विजया दशमी को दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।
त्रेता युगमा यही दिनमा भगवान श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ। श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पुकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ। दशैं भन्ना साथ नेपालीहरुको एउटा विशिष्ट र साझा पर्व हो भन्ने बुझिन्छ।वास्तवमा दशैं हामी नेपालीहरुको एउटा संस्कृति मात्र नभएर पहिचान पनि हो। हाम्रा नेपाली दाजु भाइ दिदीबहिनी संसारका जुनुसुकै कुनामा रहेपनि दशैं मनाउँछन् र उमंगका साथ शुभकामना आदन प्रदान गर्दछन्।
यो महान चाडको विशेषता र महत्त्व धेरै छ । प्रस्तुत आलेखमा दशैंबारे म सानो छँदाको आफ्नो संस्मरण र अनुभवलाई समेटने कोशिश गरेको छु ।
भर्खरै युवा जीवन आरम्भ गरेको पाँचौ वर्षमा हिँडिरहेको मलाई हरेक वर्ष मनाइने दशैंको बारेमा सोच्दा अहिले अनौठो र आश्चर्यनै लाग्छ जिबनका २२ औं वर्ष विताईसक्दा आफू सानो छँँदा मनाएको दशैं र अहिले आफैले जिम्मेवारीपूवर्क दशै मनाउनुपर्दाको अनुभव र अनुभूतिमा आकाश जमिनको फरक पर्दो रहेछ । समयले ल्याएको यस परिवर्तनलाई आत्मसात गरेर अघि बढ्नु हरेकको कर्तव्य हो भन्ने ठान्दछु ।
त्यतिबेला जब दशैंका दिनहरू सुरू हुन्थे म आफुलाई एक प्रकारले स्वतन्त्र अनुभव गर्थें । स्वतन्त्र किनभने मुख्यतः पढ्नु पर्दैनथ्यो । केवल खाने र खेल्ने मात्र । घरको कुनै काम गर्नु नपरेपछि जहाँ गए पनि भयो, जति खेले पनि भयो । न कसैको बाधा न त कसैको रोकावट । त्यसबखत केटाकेटीको मनोरञ्जनको मुख्य साधन भनेकोनै बाहिरी वातावरणमा कुद्न पाउनु हो निधर्क साथ कुदिनथ्यो कहिले लुकि डुम लुक्न कुदियो , कहिले छोइ डुम खेल्दा साथीले नभएटायोस भनेर कुदियो, कहिले फुटबल खेल्दा गोल गर्न कुदियो तर बच्चाबेलाको त्यो कुदाई र आफ्नो भविस्य बनाउने गरेको अहिलेको यो कुदाईमा ठूलो भिन्नता रहेछ त्यो कुदाईमा निर्धक खुसीसाथ कुदिन्थ्यो अहिले आफैले प्रश्न गर्दै कुदिन्छ खैर जिन्दगीमा कुदाई त छदै छ फेरि दशै तिर जाउ है त
वर्षा सकिएपछि शरद ऋतुको आगमनपूर्व हिउँदका सुरूवाती दिनहरूको वातावरण यसै पनि रमाइलो हुने नै भयो । वारीबाट पारी हेर्दा नौविसे खोला पारीका खेतमा लहलह हरियो धान झुलेकोे दृश्य निकै रमणीय हुन्थ्यो । चारैतिर हरियाली र शान्त वातावरण अनि खुला नीलो आकाशले मानिसलाई एक किसिमले अदृष्य आनन्द प्रदान गरिरहेको हुन्थ्यो । विशेषतः दशैं सुरू भएपछि हामी केटाकेटीहरूको निम्ति खुसीको सीमा हुन्नथ्यो ।
दशैंमा मुख्यतया घरको सरसफाईको काम धेरै गर्नुपर्ने भएकोले मानिसहरू तेसैमा व्यस्त हुन्थे । गाउँमा धेरैजसो घरहरू कच्ची थिए । घरमा ढ्ङाको गारो र जस्ताको छानो हुन्थ्यो । सबैजसोको घर उस्तैउस्तै आकार प्रकारका थिए । कोहीकोहीको मात्र पक्की घर (बाहिर पोलेको ईंटा र भित्र काँचो इँटाले बनेको) टायल वा झिँगटीको छानो भएको हुन्थ्यो । अहिलेको जस्तो कङ्किर्टको घरको चलन बजारमा चलेपनी गाउँमा त्यति चलेको थिएन । प्रायः धनी मानिसहरूको मात्र पक्की घर हुन्थ्यो । त्यसैले पनि ऊनीहरू गाउँघरमा धनी कहलिन्थे । गाउँमा धनी र गरिबको पहिचान धरको आकार–प्रकार र छानोले नै दिन्थ्यो ।
दशै नजिकिन थाल्दा घरघरमा सरसफाईको काम सुरू हुनथालेपछि गाउँघरको वातावरण नै अर्कै हुन्थ्यो । कच्ची घरलाई रातो र सेतो माटोले पोतिन्थ्यो । दशैंमा प्रायः सबैले घरको बाहिरी र भित्री भागमा लिपपोत गर्नु अनिवार्यजस्तै थियो । घरभित्रका सबैजसो सामानलाई बाहिर ल्याएर आँगनमा राख्थे र घरभित्र सेतो र रातो माटोले लिपपोत गर्दथे । रातो र सेतो माटोबाट एक प्रकारको अलग्गै मीठो गन्ध आउँथ्यो । कुनैकुनै घरको बाहिरतर्फ माथिल्लो भाग सेतो कमेरो माटोले र त्यसभन्दा तलको भागलाई रातो माटोले पोत्ने चलन थियो । घर बनाउँदा घरको तला छुट्टिने गरी सानो घेराजस्तो बनाएको हुन्थ्यो । घरको भित्तालाई पोतेपछि पुरानो घर पनि नयाँजस्तै देखिन्थ्यो । घरमा लिपपोत नगरी कसैले पनि दशैं मनाउँदैनथे । कसैको घरमा त्यो वर्ष मान्छे मरेको छ भने मात्र दशैंमा घर लिपपोत गर्दैनथे । हाम्रो हिन्दु धर्म परम्परा अनुसार मान्छे मरेको घरमा एक वर्षसम्म जुठो बार्ने र कुनै पनि शुभकार्य गर्नुहुँदैन भन्ने परम्परागत चलन र मान्यता छ ।
दशैंमा जब अरूको घरमा खसी, बोका ल्याउँथे अनि म हाम्रो घरमा पनि कहिले खसी ल्याउने भनेर मनमनै सोचिरहन्थे सोध्ने आटनै हुदैन थियो त्यो बेला । दशैं आउनुभन्दा पहिलेदेखि नै दशैं आउँदैछ भन्ने चर्चा हुन्थ्यो र दशैं मनाउनको निम्ति गरिने तयारीका काम पनि सुरु हुन थाल्थे । घरबाट टाढाटाढा गएका मानिसहरू पनि दशैंमा घर आउँथे । दशैंमा सबैभन्दा ठूलो रहर हुन्थ्यो नयाँ लुगा लगाउने, मासु–भात खाने, टिका लाउने र मामाघरमा जाने । नयाँ लुगा र जुत्ता लगाउने रहरले छिटै दशैं आइदिएजस्तो हुन्थ्यो । किनभने त्यस बखतमा सबैले नयाँ लुगा लगाएर दशैंमा टीका लगाउनु पर्छ भन्ने परम्परा नै थियो । अरू बखत पुरानो र फाटेको, ठाउँठाउँमा टालेको लुगा लगाए पनि दशैंमा भने नयाँ लुगा लगाउन पाउने हुँदा खुसी नहुने कुरै भएन । तेसैले दशैंमा नयाँ लुगा लगाउन पाउने भन्ने कुरा नै हामी केटाकेटीको निम्ति सबैभन्दा खुसीको कुरा हुन्थ्यो ।
सोह्रश्राद्ध सुरू भएपछि नै गाउँमा दशैंको चहलपहल हुन्थ्यो । कहिले नयाँ लुगा किन्न ममिको पछि लाग्न पाईन्छ भनेर मनमा खुल्दुली भईरहन्थ्यो । दशैंको समयलाई सम्झँदा सबैभन्दा खुसीको क्षण भनेकै टिका लगाउँदा दक्षिणा बापत पैसा पाउनु हो । त्यती धेरै पैसा अरूबेला पाइन्नथ्यो र कसैले दिँदैनथ्यो पनि । त्यो पैसाले आफुलाई मनपरेको चिज खान र किन्न पाइने र कसैलाई दिनु पनि नपर्ने । आफुसँग एकै पटक त्यती धेरै पैसा हुनु भनेको ठूलै कुरा थियो । दशैंमा केटाकेटीले दक्षिणामा पाउने भनेको बढीमा ५० रुपैयाँ मात्र हो नत्र भने बिस,तीस रुपैयाँ मात्र । दक्षिणा जमा गरेर अलि पैसा भयो भने मेरो पनि खुट्टा भुईंमा हुन्थेन । अनि सबैलाई देखाएर यी मेरो त यति पैसा भयो भन्दै दङ्ग परिन्थ्यो ।
गाउँघरमा अरु पसल थिएन आफ्नै पसल थियो । तेसैले आफुसँग पैसा भए पनि किनेर खान पाइन्नथ्यो । जब स्कूल गइन्थ्यो अनि स्कूलसँगैको ठेलामा अनेक थरी खाईन्थ्यो । ठेलामा तितौरा, पिप्लामेन्ट, नरिवल, पुष्टकारी र तिलौरा आदि पाइन्थ्यो । बरफ बेच्नेले दुइ हातमा दुइवटा थर्मस झुन्डाएर ल्याउँथ्यो र ‘लौ आयो बरफ’ भन्दै कराएर हिँड्थ्यो । सिङ्गो बरफको ढिक्कालाई टुक्रा पारेर पाँच रुपैया र दस रुपैया जतिको माग्यो त्यही अनुसार बरफ दिन्थ्यो । मुखभित्र राखेर धेरै बेरसम्म चुसेर खाइन्थ्यो ।
दशैंमा खेलेर नै दिन बित्थे । बिहानै उठेर पिङ खेल्न जाने किनकि दिउँसो पालो पाईदैन थियो हाम्रो गौचरणमा पिपलको रुखमा हालिने पिङ यो क्षेत्रको चर्चित पिङ थियो चङ्गा उडाउने रहर पनि अचम्मकै थियो नौबिसेमा तिजको बेला बजारमा हाट जस्तो पसल लाग्थे र तिज देखि बजारमा चङ्गा पाईन्थे त्यो बेला देखि चङ्गा उडाईन्थियो मैले त खासै उडाउदैन थिए तर उठेर टाढा पुगिसकेपछी साथिहरुले लट्टाई सम्हाल्न दिन्थे, चङ्गा खस्यो भने टाढा पुगेको चङ्गा पनि खोज्न जाने गरिन्थ्यो । हावा नलागी चङ्गा उड्दैन भन्ने थाहा हुँदाहुँदै पनि बिहान भात खाईसकेपछि घरबाट लट्टाई र चङ्गा लिएर निस्कन्थ्यौ । चङ्गा उडाउनको निम्ति चौरमा घरिघरि दौडिरहन्थें । भदौ–असोजको चर्को घाममा चङ्गा उडाउन दौडिदादौडिता जिउ पसिनाले निथु्रक्क भिज्थ्यो । अनुहार पनि रातोरातो हुन्थ्यो । जब दिउँसोको एक डेढ बज्न थाल्थ्यो अनि अलिअिलि हावा चल्न सुरू हुन्थ्यो । तर त्यति हल्का हावामा चङ्गा उड्दैनथ्यो । सानो चङ्गा यतिकै नउड्ने र अलिकति माथि आकाशमा पुगेपछि फनफनी घुम्ने मात्र । त्यसरी फनफनी घुमेको चङ्गामा पुच्छर गाँस्नु पर्दथ्यो । कागजको पुच्छर हालेर भए पनि चङ्गा उडाउनै पर्दथ्यो । एउटा चङ्गा च्यातिएपछि वा कसैले काटेर पठाईदिएपछि भने चङ्गा हुँदैनथ्यो । आफूसँग पैसा नहुने र घरिघरि चङ्गा किन्न पैसा नपाइने । त्यसैले उडाउँदा उडाउँदा ठाउँठाउँमा च्यातिएको चङ्गालाई पानी टेपले टालेर पनि उडाउनु पर्दथ्यो ।
पीङ् खेल्ने प्रसंग झन रमाइलो छ । मलाई पनि दशैंमा पीङ् खेल्ने ठूलो रहर हुन्थ्यो । मेरो गाउँमा बाटोको डिलमा एउटा विशाल पिपलको रूख थियो । तल स्कुल र अगाडि हाम्रै पसल थियो पिङ खेल्ने पालो पाईनु कठिननै थियो तर पालो कुरि कुरि भने पनि खेलिन्थ्यो र अरु साथिले खेलेको बेला साहिलामथुरी भन्दै पिङमा झुडिएर गईन्थ्यो एउटा दाईले त नवमीको दिन साहिला मथुरि जादा हातनै भाचेका थिए त्यसपछी हामी केही सर्तक भएका थियौ।
जब दशैं आउँथ्यो त्यही पिपलको रूखमा पिङ हालेको हुन्थ्यो । पिङ कसले हाल्थ्यो त्यो हामी केटाकेटीलाई थाहा हुन्थेन । पिङ् खेल्न केटाकेटीदेखि ठूला ठूला लोग्नेमान्छे र महिला भेला भएपछि ठूलै भीड हुन्थ्यो । पिङ् खेल्नकोलागि घन्टौं पालो कुर्नुपर्र्दथ्यो । आफ्नो पालो आए पनि अरूले नै पालो मिचिदिन्थे । कोही एक्लै पिङ् खेल्थे भने कोहीकोही दुईजना सँगै आमनेसामने उभिएर खेल्थे । त्यसरी पिङ् खेल्नुलाई दोहरी खेल्ने भन्थे । पिङ मच्चाएर यति माथिसम्म पुग्थे कि हेर्नेलाई नै कहाली लाग्थ्यो । एक्लै खेल्नेहरु मध्येका एक पुशपती दाईले त पातनै टिप्थे सायद उनीनै धेरै माथी पिङ मच्चाउन सक्थे र बिहानै पिङ खेल्न आउने पनि उनै हुन्थे । मच्चिएको पिङ्बाट रूखको पात टिप्न सक्नु त्यति सहज र सजिलो थिएन वर्षिनै त्यही मात्र एउटा ठाउँमा पिङ हालिन्थ्यो । किनकि अन्त पिङ् खेल्न हुने ठाउँ र रूख पनि थिएन । अहिले अब त्यो पिपलको बोट ईतिहास भईसक्यो सायद हामिले बचाउन सक्थ्यौ होला पहल भएन खैर राजनीतिक व्यवस्था परिवर्तन भएसङै गाउँ शहरमा परिणत हुँदै गएपछि विधालयको सरचना बनाउने पर्ने भयो र त्यस क्रममा त्यो शताब्दीको ईतिहास बोकेको रूख पनि माटोमा परिणत भयो । अन्ततः हाम्रा अघिल्ला पुस्ताले जोगाएर राखेको त्यो विशाल रूखलाई काटेर त्यसको अस्तित्व नै समाप्त पारियो र त्यहाँ विधालयको संरचना र पसल बनाइयो । गौचरण भन्ने गाउँको एउटा चिनारी नै सदाको निम्ति मेटियो तर फेरि ती यादलाई मेटाउन वर र पिपल रोपिएको छ त्यसलाई नढलाईयोस।
मलाई पनि दशैंमा मामाघर जाने ठूलो रहर हुन्थ्यो । मामाघर टाढा भएकोले गइरहन पनि सकिन्थेन अहिलेको जस्तो यातायातको साधन पनि थिएन । प्रत्येक दशैंमा म पनि ममिसँगै मामा घर जान्थें । साथमा बहिनी पनि हुन्थी काठमाडौंको पश्चिमस्थित हालको ककनी गाउँपालिकाको नेपालथोकमा थियो मामाघर । मामाघर डाँडाको सबैभन्दा तल थियो । अन्तिम घर नै मेरो मामाघर थियो । उत्तर–दक्षिण लम्बाई भएको सेतो पोतेको मुकुन्देश्वरी स्कुल नजिकको घर बाटोबाट नै प्रष्ट देखिन्थ्यो । मामाघर जाँदा पनि हिँडेर नै जानुपर्दथ्यो । बालजुबाट जानेबाटो भए पनि अहिलेकोजस्तो सार्वजनिक यातायात थिएन कोल्पुसम्म बसमा अनि त्यहाँबाट हिडेर जानुपर्थो । कुनैकुनै महिलाको पिठ्यूँमा भारि र अघिल्तिर सानो दुधे बच्चा पनि हुन्थ्यो । सायद घरमा बच्चा हेरिदिने मान्छे नभएर होला सानो बालकलाई समेत आफैसँग लिएर हिँड्नु पर्ने वाध्यतामा जीवन बिताइरहेका महिलाहरुलाई देख्दा म सानै उमेरको भए पनि अचम्म लाग्थ्यो
दशैंमा मामा घर गएपछिको रमाइलो बेग्लै हुने नै भयो । मामाघरमा सबैले माया गर्ने हुनाले त्यसैत्यसै मन दङ्ग हुन्थ्यो । सबैजना रमाइलो गर्ने भएकोले खेल्ने र खानेकाममा कसैले बाधा हाल्दैनथे । जे मन लाग्यो त्यही खायो, जहाँ मन लाग्यो त्यहीँ गयो । कामधाम पनि गर्नु नपर्ने पढु्नु पनि नपर्ने भएपछि क्या मज्जा भनेजस्तो भैहाल्यो । मामाको छोराहरू रन्जन मेरो जोडि खुब जम्थ्यो र मामाघरभन्दा तल वनमा गोरु चराउन पनि जान्थें । सानो सानो बुट्यान र झाडी भएको वनमा खेल्दा निकै रमाइलो हुन्थ्यो । ती दिनको सम्झनाले मात्र पनि रोमाञ्चित हुन्छ अहिले । तर बितेको समय फर्केर आउँदैन । समयले बिस्तारै बिस्तारै आफन्तबाट टाढा पारिरहेछ । अब मामाघर पनि सम्झनामा मात्र रहेको छ।
लाग्छ । बाल्यकालमा बिताएका ती दिनहरू जसरी बिताईयो अब आजका दिनहरू पनि त्यसरी नै बिताउन सकिन्न यो पक्कै हो । धेरै कुरामा परिवर्तन आईसक्यो । विज्ञान र प्रविधिले मानिसलाई धेरै सुविधा दिइसक्यो समय उस्तै हो तर आफू बाँचेको समय सधैँ उस्तै हुँदैन रहेछ । अब मेरो दैनिकी र व्यवहार नै अर्कै भइसक्यो । विद्यालयमा पढ्दै गरेका दिन र स्नातक तह सक्किन लागेको जीवनको दिन उस्तै कसरी हुन्छ र ?
निर्धारित समय तालिकामा बिताएका दिनहरू र फुर्सदमा बिताउने दिनहरू नितान्त फरक हुन्छन् । जिम्मेवारी र दायित्वपूर्ण जीवन बिताउनु भनेको एक प्रकारले आफ्नो पारिवारिक कर्तव्य पूरा गर्नु हो । जो मेरा बाबु–बाजेले गरेका थिए । त्यसैले लाग्छ म पनि बाबु–बाजेले गरेकै कार्यलाई निरन्तरता दिईरहेछु ।
सम्पुर्णमा विजया दशमीको शुभकामना।